ताजा समाचार

सडक खनेको माटो गुफा माथि मिल्काउदा ऐतिहाँसिक विश्वामित्र गुफा संकटमा

 समता न्युज    १९ मंसिर २०७६, बिहीबार ०६:२९     295 जनाले पढ़िसके

रामेछाप १९ मंसिर ।
मध्य पहाडी लोकमार्ग निर्माणको क्रममा गरिएको लापरवाहीको कारण ऐतिहाँसिक विश्वामित्र गुफामा क्षति पुगको छ । सडक खन्ने क्रममा गुफा माथिबाट माटो मिल्काउँदा सो गुफामा क्षति पुगेको हो ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको सुनकोसी नदी किनारमा रहेको विश्वामित्र गुफलाई ऐतिहाँसिक गुफा मानिन्छ । नदी किनारमा रहेको यो गुफामा सप्तऋषि मध्येका एक विश्वामित्र ऋषिले तपस्या गरेको भनाई रहेको छ ।
सिन्धुली जिल्लामा रहेको एतिहाँसिक कुशेश्वर महादेव मन्दिरको वारीपट्टी रामेछापको राकाथुममा रहेको सो गुफामा तपस्या गर्ने विश्वामित्र ऋषि योगवलले गर्दा सुनकोसी नदी पार गरी पूजाआजाको लागि कुशेश्वर मन्दिर जाने र फर्किएर आई फेरी यही गुफामा ध्यान गर्दथे भन्ने विश्वाश गरिन्छ ।
सुनकोसी किनारबार खनिएको मध्यपहाडी मार्ग खन्ने क्रममा गुफा माथिबाट माटो झार्दा गुफाको मुखगमा ढुंगा माटो जम्मा भई पुरिएको कुशेश्वर महादेव मन्दिरका पुजारी विष्णुप्रसाद नाराल बताउँछन् । पुरिएको गुफाको ढुँगामाटो हटाउने क्रममा डोजर प्रयोग गर्दा गुफामा क्षति पुगेको उनले बताए । डोजरले माटो सफा गर्दा गुफाको मुखमा समेत हानेको कारण गुफाको मुख भत्किएको तथा ढुँगाहरु समेत खसेर गुफा भत्कने जोखिम बढेको उनले बताए ।
बिहान बेलुका कुशेश्वर मन्दिरमा पुजा गरि बाँकि समय सोही गुफामा ध्यान गरेर बस्दै आएको पुजारी नाराल बताउँछन् । नदीको शान्त आवाज र एकान्त गुफा भएकोले अध्ययन गर्न तथा ध्यान गर्नको लागि सो स्थान उपयुक्त थलो भएको उनले बताए ।
विपिमार्गकै छेउमा सिन्धुलीको दुम्जामा कुशेश्वर महादेव मन्दिर रहेको छ । अहिले कुशेश्वर मन्दिर नजिकैबाट नेपालथोकमा पक्कि पुल बनेको कारण कुशेश्वर मन्दिरबाट पाँच मिनेटमा विश्वामित्र गुफासम्म पुग्न सकिने भएको छ । त्यसैले पनि यो गुफाको महत्व बढेको छ । तर गुफाको संरक्षण र प्रचार नहुँदा यहाँ कमै मात्र मान्छेहरु पुग्ने गर्दछन् । गुफाको ओरीपरि सडक खन्ने क्रममा थुपारीएको माटोले गुफानै संकटमा परेको छ ।
खाँडादेवी गाउँपालिका–१ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ सो गुफाको संरक्षणको लागि खाँडादेवी गाउँपालिकाले योजना बनाएको बताउँछन् । आफूहरुकै प्रयाशले गुफामा सडकले पुरेको माटो हटाउन लगाएको उनले बताए । अब सो गुफासम्म जाने बाटो बनाउने तथा गुफाको संरक्षणको लागि पर्खाल लगाउने र ओरिपरिको माटो हटाएर पर्यटकहरु आउने बतावरण बनाउने गरी काम गर्ने पालिकाले योजना बनाएको उनले बताए